काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हलो हुने भएको छ । गत फागुनमा विभिन्न शक्तिबीच पार्टी एकताको घोषणा भए पनि चुनाव चिन्हबारे टुंगो लागेको थिएन ।
नयाँ पार्टीको चुनाव चिन्ह गाई हुने कि हलो भन्नेमा विवाद थियो । पार्टीका तीनवटै अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा चुनाव चिन्ह हलो राख्ने सहमतिमा पुगेका हुन् ।
हलो तत्कालीन राप्रपा संयुक्तको चुनाव चिन्ह थियो । यसैबीच अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति गाई उपयुक्त चुनाव चिन्ह भए पनि पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका शुभचिन्तकहरुमा अपिल समेत गरेका छन् ।