काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको निधन भएको छ । नेपालगञ्ज र वीरगञ्जमा दुई जनाको निधन भएको हो ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको शुक्रबार बिहान निधन भएको हो । त्यस्तै वीरगंज नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति निधन भएको अस्पतालले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–३ का पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ गते उपचारको लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । उहाँमा ६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचापका बिरामी उहाँको निमोनियाको कारण निधन भएको अस्पतालले जनाएको छ ।
पर्साको पोखरिया नगरपालिका–१ का पुरुषको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे निधन भएको हो । उहाँ मुटु र मिर्गौलाको समस्याबाट पीडित हुनुहन्थ्यो ।
उहाँलाई बुधबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उहाँको निधन भएको हो ।