राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले बन्दाबन्दी नदोहो¥याउन सरकारसँग आग्रह गरेको छ ।
एनबीआईका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई यस्तो आग्रह गरेको हो ।
अध्यक्ष जोशीले मुलुकले अब थप अनिश्चितकालीन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन सरकारसँग आग्रह गरे ।
प्रत्युत्तरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालले कोभिड–१९ को नियन्त्रण र आर्थिक गतिविधिलाई सुचारु गर्न राष्ट्रिय व्यावसायिक पहलले लिएको जिम्मेवार व्यावसायिक अभ्यासलाई सराहना गर्दै निजी क्षेत्रबाट प्राप्त महत्वपूर्ण सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउनुभयो । यसको कार्यान्वयनका लागि सम्बन्धित सबै निकायसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
बन्दाबन्दीको विषयमा आएको समाचारमा सत्यता नभएको र सरकार अब बन्दाबन्दीलाई निरन्तरता दिने मनस्थितिमा नरहेको जानकारी गराउँदै निजी क्षेत्रलाई आश्वस्त गराए ।
अध्यक्ष जोशीले बन्दाबन्दी खुकुलो पारेसँगै बिस्तारै अर्थतन्त्रले गति लिन सुरु गरेको बताउँदै उनले कोभिडले निम्त्याउन सक्ने जोखिम समाजमा केही वर्षसम्म रहनसक्ने विज्ञले अनुमान गरेकाले सम्भावित जोखिम न्यूनीकरण गरी व्यावसायिक क्रियाकलापलाई सुरक्षित एवं वैज्ञानिक रूपमा सञ्चालन गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको र सरकारको ठोस सहयोगको आवश्यकता औँल्याएका थिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौतीलगायत साना, मध्यम तथा ठूला सबै खालका व्यवसाय धराशयी भएको बताउँदै समग्र अर्थतन्त्रको सूक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालीन तथा दीर्घकालीन योजना, राहत तथा पुनरुत्थानका कार्यक्रमका साथ अघि बढ्नुपर्र्नेमा जोड दिए।
पहलका महासचिव सुरेन्द्रवीर मालाकारले विभिन्न समस्याका बीच अघि बढिरहेको नेपालको औद्योगिक, व्यावसायिक क्षेत्रमा कोभिडले थप नयाँ गम्भीर चुनौती सिर्जना गरेको बताउँदै यसको समाधानमा सरकार तथा निजी क्षेत्रको ठोस सहकार्यको आवश्यकता औँल्याए । गोरखापत्र दैनिकमा खबर छ ।