एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका ट्रम्प ह्वाइट हाउस फर्केका हुन् ।
उनी उपचारपछि स्थानीय समय अनुसार सोमबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् । सोमबार बेलुका ट्रम्प मास्क लगाएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका हुन् । बाहिरिने क्रममा ट्रम्पले पत्रकारले सोधेका प्रश्नको जवाफ दिएनन् ।
अस्पतालबाट बिदा भएका ट्रम्पले चाँडै चुनावी अभियानमा सामेल हुने दाबी पनि गरेका छन् । उनले ट्वीट गरेर कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित हुन नदिन पनि आफ्ना समर्थकलाई आग्रह गरेका छन । उनले आफुले राम्रो महशुष गरिरहेको समेत उल्लेख गरेका छन् ।
ट्रम्प अस्पतालबाट डिस्चार्ज भए पनि उनको उपचार भने जारी रहेको छ । ह्वाइट हाउसमा उनको करिब रहेका कम्तीमा १२ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएको छ । तर ह्वाइट हाउसले कति जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ भन्ने अहिलेसम्म खुलाएको छैन ।