रमेश ढुंगाना,
२० असोज, विदुर । नेपाल बिद्युत प्राधिकरणले नुवाकोटको देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाले स्थानियवासी, जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग बिगतमा गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै विरोध भएको छ ।
नगरपालिका क्षेत्रकै बिभिन्न भुगोलमा नेपाल बिद्युत प्राधिकरणले नेपालमै ठुलो सोलार ग्रिड मानिएको उक्त आयोजना निर्माण गरिरहेको छ । निर्माण कार्यको आरम्भ हुँदा स्थानिय प्रभावित क्षेत्र र त्यहाँका जनताको हकमा आयोजनाले गरेको प्रतिवद्दता पुरा गर्न स्थानीयहरुले माग गरेका छन् । विदुर नगरपालिका वडा नं. १२ चारघरेका नवराज ढुङ्गानाको संयोजकत्वमा स्थानीयहरुले सोलार सरोकार समिति समेत गठन गरेका छन् । समितिले आइतवार सबै निकायको ध्यानाकर्षण गर्दै आयोजनालले गरेको प्रतिबद्धता तत्कालै पुरा गर्न माग गरेको छ ।
२५ मेगावाट क्षमताको सो सोलार ग्रिड प्यानलले स्थानीय स्तरमा गरिनुपर्ने बिकास निर्माणलाई बेवास्ता गरेको भन्दै प्रभावित वासिन्दा र जनप्रतिनिधिहरुसहितको सरोकार समितिले जिल्ला प्रशासन कार्यालय, विदुर नगरपालिकाका र सम्बन्धित सोलार ग्रिड आयोजना कार्यालयको ध्यानाकर्षण गराएको छ ।
सोलार सरोकार समितिले तीनैवटा निकायको ध्यानाकर्षण गराउँदै ग्रीड सोलार आयोजनाले स्थानीय प्रभावित जनतासँग सरोकार नराखी न्यूनतम प्रभावित जनताको माग पनि पुरा नगरेको जनाएको छ । पटक पटक स्थानिय नागरिकहरुले सोलार आयोजनासँग बिकासका प्रतिबद्धता पुरा गर्न आग्रह गरे पनि आयोजनाले टार्दै आएको सरोकार समितिको भनाई छ ।
स्थानिय सरोकार समितिको मागलाई बेवास्ता गरेमा आयोजना प्रभाबित बनाउने समितिले जनाएको छ । लामो समयसम्म आयोजनाले गरेको प्रतिबद्धता पुरा नगरेपछि सरोकार समिति गठन गरेर अगाढी बढ्नु परेको सोलार सरोकार समितिका अध्यक्ष नवराज ढुङ्गानाले बताए ।आयोजनाले आफ्ना मागहरु पुरा गरेमा स्थानीयको तर्फबाट आफुहरुले आयोजनाका लागि गर्नुपर्ने सहयोगका लागि तयार रहेको सरोकार समितिले बताएको छ ।