एजेन्सी, जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडन राष्ट्रपति बनेका हुन् ।
महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् । जसले बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार भएको छ ।
राष्ट्रपति निर्वाचनको आधिकारिक परिणाम घोषणा हुन बाँकी छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।
निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।