एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ। दिल्ली क्यापिटल्सलाई पाँच विकेटको लज्जास्पद हार चखाउँदै मुम्बई ईण्डियन्स पाँचौ पटक ईण्डियन प्रिमियर लिग आईपीएलको उपाधि जिन सफल भएको छ । पहिलो पटक फाइनलमा पुगेको दिल्लीले भने उपाधि जित्ने मौका गुमाएको छ । फाइनलमा दिल्ली ब्याटिङ र बलिङ दुवैमा चुक्यो ।
पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । दिल्लीले सुरूवात राम्रो गर्न सकेन । महत्वपूर्ण तीन विकेट गुमाउँदा मात्र २२ रन बनाएको थियो । ओपनर मार्कस स्टोइनिस गोल्डेन डक आउट हुदा अजिम्के रहाने पनि २ रनमा आउट भए । यी दुवैलाई ट्रेन्ट बाउल्टले आउट गरे । लगत्तै शिखर धवन पनि १५ रनमा पबिलियन फर्के ।
यसपछि श्रेयस अयर र रिसब पन्तले इनिङ सम्हालेर तेस्रो विकेटको लागि ९६ रनको साझेदारी गरे । दुवैले अर्धशतकिय पारी खेले। रिसब पन्त ५६ रनमा आउट हुदा श्रेयश अयर अविजित ६५ रनमा क्रिजमा रहे। दिल्लीका तीन खेलाडीले मात्र दोहोरो रन बनाए । बलिङमा ट्रेन्ट बाउल्टले तीन विकेट लिए ।
जवाफमा १ सय ५७ रनको विजय लक्ष्य पछ्याएको मुम्बइले १८ दशमलव ४ ओभरमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो । मुम्बईलाई जित दिलाउन कप्तान रोहित शर्माले ५१ बलको सामना गरी ५ चौका र ४ छक्काको मद्दतले ६८ रनको इनिङस खेले ।
यस्तै इशान किसनले अविजित ३३ र डि ककले २० रन बनाए। बलिङमा एनरिच नोर्टजेले दुई विकेट लिए । यसरी पाँच विकेटको सहज जितमा मुम्बई ईण्डियन्स पाँचौ पटक च्याम्पियन बन्न सफल रह्यो ।
दिल्ली दोस्रो स्थानमा खुम्चियो भने यो पटक नेपाली लेग स्पीनर सन्दीप लामिछानेले खेल्ने मौका भने पाएनन । यसअघि दुई सिजन सन्दीपले खेल्ने मौका पाएपनि यो पटक भने मैदानमा उत्रन पाएनन् ।